कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक १९)

मौसमी सारांश:

  • गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी गण्डकी प्रदेशको लम्जुङ जिल्लामा रहेको खुदि बजार केन्द्रमा १६८.९ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश भू-भागहरुमा ३० डि.से. र गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३७.५ डि.से. तापक्रम मापन गरिएको छ। तराईका अधिकांश भू-भागहरुमा न्यूनतम तापक्रम २५ डि.से. भन्दा बढी मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९.२ डि.से. तापक्रम मापन भएको छ।
  • साताभरि नै आंशिक देखि सामान्य बदली रहने संभावना रहेको छ।
  • साताको शुरू तथा मध्यमा देशका केहि स्थानहरूमा मेघगर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानहरूमा हल्का वर्षाको संभावना छ।
  • साताको शुरू तथा मध्यमा प्रदेश नं-१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।
  • देशका अधिकांश भू-भागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ।

कृषि सारांश:

  • वर्षे धानको टपड्रेसको लागि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस युरियाको मात्रा प्रयोग गर्नुहोस्। युरिया मलको विकल्पको रुपमा नानो झोल युरिया (Nano liquid urea) ४ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरी टपड्रेस गर्ने समयमा छर्कनुहोस्।
  • धानखेतमा पात वेरुवा कीराको नोक्सानी कम गर्न अल्फामेथ्रिन २ एम.एल. प्रति लिटर पानीको दरमा धानको पात भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। गबारो कीराले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
  • धानबालीमा मरुवा (Blast) रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • आँपको पातमा जालो बनाउने कीराको नियमित अनुगमन गर्नुहोस्। जालो देखिएमा लठ्ठी वा ब्रसको सहायताले जालो हटाउनुका साथै कीराले क्षती गरेको पातहरु नष्ट गर्नुहोस्।
  • मध्यपहाडको बारी जग्गामा भदौमा रोप्नको लागि जनकदेव, डेजिरे, कार्डिनल, खुमल सेतो-१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको बीउ आलु टुसाउन दिनुहोस्।
  • काउली, बन्दा जस्ता तरकारी बालीहरुको अगौटे तथा मध्यम जातहरुको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गाको माटोको उपचार गर्नुपरेमा बेभिष्टीन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • स्थानीय खुल्लारुपमा पालिएका कुखुराहरुलाई रानीखेत रोग विरुद्द एफ१ एन.डी. क्लोन जातका खोप शुद्ध पानीमा घोलेर खुवाउनुहोस्। यसरी खुवाउँदा १ ग्राम प्रति लिटर पानीका दरले स्किम मिल्क पाउडर पनि सँगै खुवाउनुहोस्।
  • हाल काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा पालिएका संगुर-बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर र क्लासिकल स्वाइन फिभर जस्ता संक्रामक रोगहरु फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नुहोस्। रोगको शंका लागेमा निदानको लागि रोगी पशुको रगतको नमूनाहरु सहित राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्र, खुमलटारमा सम्पर्क राख्नुहोस्।
  • वर्षातको समयमा गाई-भैँसीहरुमा देखा पर्ने भ्यागुते र चरचरे रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्राविधिकको सिफारिसमा प्रयोग गर्नुहोस्।
  • कार्प माछा भुरा हुर्काउने पोखरीमा वातावरण बदलाब सँगै ब्याक स्वीमर, खपटे, पतेरो, गाइने कीरा आदि शिकारी जीवको प्रकोप देखिएमा नर्सरी पोखरीको पानीमा साबुनपानी र डिजेल ७५ लिटर वा मट्टितेल १०० लिटर प्रति हेक्टर जलाशयमा स्टक गर्नु ५ दिन अगाडी अथवा पोखरीमा ४ फिट पानी गहिराई भएको अबस्थामा मालाथियन ५०% ई.सी., प्रति कठ्ठा ४०० एम.एल., १० लिटर पानीमा घोलेर प्रयोग गर्नुहोस्। १.५ के.जी. डि.ए.पी. र ०.५ के.जी. यूरिया बेग्ला-बेग्लै भिजाएर पोखरीको चारै कुनामा भोलिपल्ट छर्कँनुहोस्।
  • माछामा लाग्ने आर्ग्युलस (माछाको जुम्रा) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुका साथै माछाको घनत्व कम गर्ने, पोखरी भित्र ठाँउ-ठाँउमा बाँस गाड्ने र उक्त बाँसलाई ३ दिनको अन्तरमा झिकेर सुकाउने र पोखरीको भित्री डिलमा उम्रेका झारपात सफा राख्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखी ४ बजेसम्म फोन गर्नुहोस्।