नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक १६)
मौसमी सारांश:
- गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ४६२.४ मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्युनतम तापक्रम १०.0 डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका अधिकांश भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- देशभर, साताभरि नै आँशिक देखि सामान्य बदली रहने संभावना रहेको छ।
- देशभर, साताको शुरू र मध्यमा धेरै स्थानहरूमा तथा साताको अन्त्यमा देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साताको शुरू र मध्यमा; सुदुरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको संभावना रहेको छ। साथै साताको अन्त्यमा प्रदेश नं-१ को एक वा दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
- देशका अधिकांश भू-भागमा अधिकतम तापक्रम हल्का बढ्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ।
कृषि सारांश:
- वर्षे धान उत्पादनको लागि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मलखादको मात्रा प्रयोग गर्नुहोस्।
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- धानबालीमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ एम.एल. दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको वा रोपेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्प्रे गर्नुहोस्।
- धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गरी रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी खेतमा ५% मृत गुवा वा प्रति मिटर कीराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापनका बिधिहरु अपनाउनुहोस्।
- भटमासमा जरा कुहिने रोग लागेमा वेभिष्टिन २-३ ग्राम प्रति लिटर पानीको दरले बोटको जरा भिज्नेगरि १०-१२ दिनको फरकमा २-३ पटकसम्म ड्रेन्चिङ गर्नुहोस्।
- आँपको हाँगा सुकाउने गबारोले क्षति पुर्याई सुकेका हाँगाहरु काँटछाँट गरि नष्ट गर्नुहोस्। फल टिपिसकेपछि इमिडाक्लोप्रिड १७.८ एस.एल. ०.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर प्रत्येक १५ दिनको अन्तरमा ४-५ पटक काण्ड तथा हाँगाहरु राम्ररी भिज्नेगरि छर्कनुहोस्।
- मध्यपहाडको बारी जग्गामा सुन्तले सखरखण्ड-१, सुन्तले सखरखण्ड-२ लगायत उपलब्ध सखरखण्डका जातहरु रोप्नुहोस्।
- काउली, बन्दा जस्ता तरकारी बालीहरुको अगौटे जातहरुको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गाको माटोको उपचार गर्नुपरेमा बेभिष्टीन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
- काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा पालिएका संगुर-बंगुरहरुमा संक्रमण देखिएकोले रोगका लक्षणहरु देखिएका फार्मबाट पशु वा पशुजन्य उत्पादन केही पनि खरिद-बिक्री वा वितरण नगर्नुहोस्। रोगका लक्षण देखिएका खोरमा मानिसको हिँडडुल पनि संभव भएसम्म कम गर्नुहोस्।
- वर्षातको समयमा गाई-भैँसीहरुमा देखा पर्ने भ्यागुते र चरचरे रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्राविधिकको सिफारिसमा प्रयोग गर्नुहोस्।
- कार्प माछा भुरा हुर्काउने पोखरीमा वातावरण बदलाब सँगै ब्याक स्वीमर, खपटे, पतेरो, गाइने कीरा आदि शिकारी जीवको प्रकोप देखिएमा नर्सरी पोखरीको पानीमा साबुनपानी र डिजेल ७५ लिटर वा मट्टितेल १०० लिटर प्रति हेक्टर जलाशयमा स्टक गर्नु ५ दिन अगाडी अथवा पोखरीमा ४ फिट पानी गहिराई भएको अबस्थामा मालाथियन ५०% ई.सी., प्रति कठ्ठा ४०० एम.एल., १० लिटर पानीमा घोलेर प्रयोग गर्नुहोस्। १.५ के.जी. डि.ए.पी. र ०.५ के.जी. यूरिया बेग्ला-बेग्लै भिजाएर पोखरीको चारै कुनामा भोलिपल्ट छर्कँनुहोस्।
- माछामा लाग्ने आर्ग्युलस (माछाको जुम्रा) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुका साथै माछाको घनत्व कम गर्ने, पोखरी भित्र ठाँउ-ठाँउमा बाँस गाड्ने र उक्त बाँसलाई ३ दिनको अन्तरमा झिकेर सुकाउने र पोखरीको भित्री डिलमा उम्रेका झारपात सफा राख्नुहोस्।
- आगामी साता वर्षाको संभावना भएका भू-भागहरुमा पोखरीको प्रवेशद्वार निकासद्वारमा माछाको आकार अनुसारको जाली राख्नुहोस्। साथै बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षती कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखी ४ बजेसम्म फोन गर्नुहोस्।