![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक १५)
मौसमी सारांश:
• गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको लमजुङ जिल्लामा रहेको खुदीबजार केन्द्रमा सबैभन्दा बढी २६२ मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका धेरैजसो भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम र २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
• साताभरि नै देशभर आंशिक देखि सामान्य बदली रहने संभावना रहेको छ।
• साताको शुरू र मध्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साताको अन्त्यमा देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै साताको अन्त्यमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
• देशका अधिकांश भू-भागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ।
कृषि सारांश:
• २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
• रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
• धानबालीमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ एम.एल. दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको वा रोपेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्प्रे गर्नुहोस्।
• धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गरी रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्।
• धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी खेतमा ५% मृत गुवा वा प्रति मिटर कीराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापनका बिधिहरु अपनाउनुहोस्।
• भटमासमा जरा कुहिने रोग लागेमा वेभिष्टिन २-३ ग्राम प्रति लिटर पानीको दरले बोटको जरा भिज्नेगरि १०-१२ दिनको फरकमा २-३ पटकसम्म ड्रेन्चिङ गर्नुहोस्।
• आँपको हाँगा सुकाउने गबारोले क्षति पुर्याई सुकेका हाँगाहरु काँटछाँट गरि नष्ट गर्नुहोस्। फल टिपिसकेपछि इमिडाक्लोप्रिड १७.८ एस.एल. ०.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर प्रत्येक १५ दिनको अन्तरमा ४-५ पटक काण्ड तथा हाँगाहरु राम्ररी भिज्नेगरि छर्कनुहोस्।
• मध्यपहाडको बारी जग्गामा सखरखण्ड लगाउने समय भएकोले सुन्तले सखरखण्ड-१, सुन्तले सखरखण्ड-२ लगायत उपलब्ध जातहरु रोप्नुहोस्।
• काउली, बन्दा जस्ता तरकारी बालीहरुको अगौटे जातहरुको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गाको माटोको उपचार गर्नुपरेमा बेभिष्टीन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
• काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा पालिएका संगुर-बंगुरहरुमा संक्रमण देखिएकोले रोगका लक्षणहरु देखिएका फार्मबाट पशु वा पशुजन्य उत्पादन केही पनि खरिद-बिक्री वा वितरण नगर्नुहोस्। रोगका लक्षण देखिएका खोरमा मानिसको हिँडडुल पनि संभव भएसम्म कम गर्नुहोस्।
• वर्षातको समयमा गाई-भैँसीहरुमा देखा पर्ने भ्यागुते र चरचरे रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्राविधिकको सिफारिसमा प्रयोग गर्नुहोस्।
• माछामा लाग्ने आर्ग्युलस (माछाको जुम्रा) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुका साथै माछाको घनत्व कम गर्ने, पोखरी भित्र ठाँउ-ठाँउमा बाँस गाड्ने र उक्त बाँसलाई ३ दिनको अन्तरमा झिकेर सुकाउने र पोखरीको भित्री डिलमा उम्रेका झारपात सफा राख्नुहोस्।
• आगामी साता वर्षाको संभावना भएका भू-भागहरुमा पोखरीको प्रवेशद्वार निकासद्वारमा माछाको आकार अनुसारको जाली राख्नुहोस्। साथै बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षती कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र प्रयोग गर्नुहोस्।
• कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखी ४ बजेसम्म फोन गर्नुहोस्।