नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक १३)
मौसमी सारांश:
- गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा सबैभन्दा बढी ३22.9 मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका केही भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ११.१ डि.से. तापक्रम मापन भएको छ।
- साताभरि नै देशभर आँशिक देखि सामान्य बदलीको संभावना छ।
- साताको शुरूमा देशको हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको र साताको मध्य तथा अन्त्यमा देशका हिमाली, पहाडी र तराईका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
- हिमाली भू-भागको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तथा पहाडी र तराई भू-भागको अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने संभावना रहेको छ।
कृषि सारांश:
- देशका धेरै स्थानहरुमा साताभरि नै वर्षाको संभावना रहेकोले मकै, भटमास लगायतका बालीहरुमा पानी निकासको उचित ब्यबस्था गर्नुहोस्।
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- धानबालीमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ एम.एल. दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको वा रोपेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्प्रे गर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा ५% मृत गुवा वा प्रति मिटर कीराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापनका बिधिहरु अपनाउनुहोस्। वयष्क गबारो कीरा साँझको समयमा खेतमा वा राती बत्तीको आसपास देखिन्छ; यिनीहरुले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरि नष्ट गर्नुहोस्।
- स्याउ, ओखर, आरु, आरु बखडा, खुर्पानी, नासपाती, सुन्तला, जुनार, कागती आदि फलफुलहरुको नर्सरीको नियमित अनुगमन गरी सकरहरुलाई समयमा नै हटाउनुहोस्।
- आँपको हाँगा सुकाउने गबारोले क्षति पुर्याई सुकेका हाँगाहरु काँटछाँट गरि नष्ट गर्नुहोस्। फल टिपिसकेपछि इमिडाक्लोप्रिड १७.८ एस.एल. ०.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर प्रत्येक १५ दिनको अन्तरमा ४-५ पटक काण्ड तथा हाँगाहरु राम्ररी भिज्नेगरि छर्कनुहोस्।
- सुन्तलाजात तथा वर्षे फलफूलका विरुवाहरु सार्ने उपयुक्त समय भएकोले भरपर्दो नर्सरीवाट सिफारिस जातका कलमी बेर्ना सिफारिस दूरीको फरकमा सार्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागी क्याराथेन १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरी ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा पालिएका संगुर-बंगुरहरुमा संक्रमण देखिएकोले रोगका लक्षणहरु देखिएका फार्मबाट पशु वा पशुजन्य उत्पादन केही पनि खरिद-बिक्री वा वितरण नगर्नुहोस्। रोगका लक्षण देखीएका खोरमा मानिसको हिँडडुल पनि संभव भएसम्म कम गर्नुहोस्।
- वर्षातको समयमा गाई-भैँसीहरुमा देखा पर्ने भ्यागुते र चरचरे रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्राविधिकको सिफारिसमा प्रयोग गर्नुहोस्।
- कार्प माछा भुरा हुर्काउने पोखरीमा वातावरण बदलाब सँगै ब्याक स्वीमर, खपटे, पतेरो, गाइने कीरा आदि शिकारी जीवको प्रकोप देखिएमा नर्सरी पोखरीको पानीमा साबुनपानी र डिजेल ७५ लिटर वा मट्टितेल १०० लिटर प्रति हेक्टर जलाशयमा स्टक गर्नु ५ दिन अगाडी अथवा पोखरीमा ४ फिट पानी गहिराई भएको अबस्थामा मालाथियन ५०% ई.सी., प्रति कठ्ठा ४०० एम.एल., १० लिटर पानीमा घोलेर प्रयोग गर्नुहोस्। १.५ के.जी. डि.ए.पी. र ०.५ के.जी. यूरिया बेग्ला-बेग्लै भिजाएर पोखरीको चारै कुनामा भोलिपल्ट छर्कँनुहोस्।
- आगामी साता वर्षाको संभावना भएका भू-भागहरुमा पोखरीको प्रवेशद्वार निकासद्वारमा माछाको आकार अनुसारको जाली राख्नुहोस्। साथै बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षती कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखी ४ बजेसम्म फोन गर्नुहोस्।