नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक १२)
मौसमी सारांश:
- गत साता देशभर नै धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। प्रदेश नं-१ को झापा जिल्लामा रहेको गैडाँ (कन्काई) केन्द्रमा २४९ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- यो वर्षको मनसुन पश्चिमतिर फैलने क्रममा रहेको छ।
- साताभरी देशका धेरै भू-भागमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। पहाडी भू-भागमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको समेत संभावना रहेको छ।
- अधिकतम तापक्रममा केही गिरावट आउने छ भने न्यूनतम तापक्रममा खासै परिवर्तन हुनेछैन।
कृषि सारांश:
- साताभरि नै देशका धेरै स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेकोले मकै, भटमास लगायतका बालीहरुमा पानी निकासको उचित ब्यबस्था गर्नुहोस्।
- धान खेतीमा लागत न्यूनीकरण गर्न यान्त्रीकरण प्रविधिहरु जस्तै: राइस ट्रान्सप्लान्टर, ड्रम सिडर आदी प्रयोग गर्नुहोस्।
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- कोदोबालीबाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाउँ अनुसारको लागी सिफारिस गरिएका कोदोका जातहरूको ब्याड राख्नुहोस्।
- स्याउ, ओखर, आरु, आरु बखडा, खुर्पानी, नासपाती, सुन्तला, जुनार, कागती आदि फलफुलहरुको नर्सरीको नियमित अनुगमन गरी सकरहरुलाई समयमा नै हटाउनुहोस्।
- आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग शुरु गर्नुहोस्।
- आँपको हाँगा सुकाउने गबारोले क्षति पुर्याई सुकेका हाँगाहरु काँटछाँट गरि नष्ट गर्नुहोस्। फल टिपिसकेपछि इमिडाक्लोप्रिड १७.८ एस.एल. ०.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर प्रत्येक १५ दिनको अन्तरमा ४-५ पटक काण्ड तथा हाँगाहरु राम्ररी भिज्नेगरि छर्कनुहोस्।
- सुन्तलाजात तथा वर्षे फलफूलका विरुवाहरु सार्ने उपयुक्त समय भएकोले भरपर्दो नर्सरीवाट सिफारिस जातका कलमी बेर्ना सिफारिस दूरीको फरकमा सार्नुहोस्।
- सुन्तलाजात फलफूल बालीको नर्सरीमा चुसाहा कीराहरुबाट हुने नोक्सानी कम गर्नको लागी इमिड़ाक्लोप्रिड (१७.८% एस. एल.) ०.५ एम.एल. प्रति लिटर पानीमा घोली पात भिज्नेगरी छर्नुहोस्।
- उच्चपहाडमा बीउको लागी लगाएको परिपक्क आलुबालीमा हाल्म पुलिङ गर्नुहोस्।
- तरकारी बाली काट्ने र फलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयोग नगर्नुहोस्। यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहन गई मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुग्दछ।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागी क्याराथेन १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरी ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्। शंखे तथा चिप्ले कीराहरुले तरकारी बाली तथा फलफुलका बिरुवामा निकै क्षती गर्ने भएकोले अनुगमन गरी ब्यबस्थापनका उपायहरु अपनाउनुहोस्।
- हाल काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा पालिएका संगुर-बंगुरहरुमा संक्रामक रोगहरु फैलिरहेको अवस्थामा रोग फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नुहोस्। रोगका लक्षणहरु देखीएका फार्मबाट पशु वा पशुजन्य उत्पादन केही पनि खरिद-बिक्री वा वितरण नगर्नुहोस्। रोगका लक्षण देखीएका खोरमा मानिसको हिडडुल पनि संभव भएसम्म कम गर्नुहोस्।
- तराई र मध्य पहाडी क्षेत्रमा बदामे घाँस बीउबाट लगाउँदा १५ देखी २० के. जी. प्रति हेक्टरको दरले २.५ से.मि. गहिराइमा बीउ रोप्नुहोस्। हाँगाको कटिङ्ग रोप्दा करिव १० देखी १५ से.मी. को टुक्रा पारि वर्षा समयमा माटोमा चिस्यान प्रशस्त भएको बेलामा आधा जमिनभित्र पर्नेगरी ५० से.मी. को फरकमा रोप्नुहोस् ।
- कार्प माछा भुरा हुर्काउने पोखरीमा वातावरण बदलाब सँगै ब्याक स्वीमर, खपटे, पतेरो, गाइने कीरा आदि शिकारी जीवको प्रकोप देखिएमा नर्सरी पोखरीको पानीमा साबुनपानी र डिजेल ७५ लिटर वा मट्टितेल १०० लिटर प्रति हेक्टर जलाशयमा स्टक गर्नु ५ दिन अगाडी अथवा पोखरीमा ४ फिट पानी गहिराई भएको अबस्थामा मालाथियन ५०% ई.सी., प्रति कठ्ठा ४०० एम.एल., १० लिटर पानीमा घोलेर प्रयोग गर्नुहोस्। १.५ के.जी. डि.ए.पी. र ०.५ के.जी. यूरिया बेग्ला-बेग्लै भिजाएर पोखरीको चारै कुनामा भोलिपल्ट छर्कँनुहोस्।
- आगामी साता वर्षाको संभावना भएका भू-भागहरुमा पोखरीको प्रवेशद्वार र निकासद्वारमा माछाको आकार अनुसारको जाली राख्नुहोस्। साथै बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षती कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र प्रयोग गर्नुहोस्। माछालाई खुवाउने दानालाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखी ४ बजेसम्म फोन गर्नुहोस्।