नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ८)
मौसमी सारांश:
- गत साता देशभर नै वर्षा मापन भएको छ। वर्षा मापन भएका धेरैजसो केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। मधेस प्रदेशको सप्तरी जिल्लामा रहेको फत्तेपुर केन्द्रमा १७९.१ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्युनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- हिमाली भूभागका एक-दुई देखि थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भूभागमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको पहाडी भूभागमा मध्यम वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
- तराई भूभागमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश नं. १ को तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।
- सुदूरपश्चिम र कर्णाली प्रदेशमा तापक्रम केहि बढ्ने सम्भावना छ।
कृषि सारांश:
- आगामी साताको मध्य र अन्तयमा प्रदेश नं. १ को तराई, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेकोले मकै, भटमास लगायतका बालीहरुमा पानी निकासको उचित ब्यबस्था गर्नुहोस् |
- धान खेतीमा लागत न्यूनीकरण गर्न यान्त्रीकरण प्रविधिहरु जस्तै: राइस ट्रान्सप्लान्टर, ड्रम सिडर, सुख्खा छरुवा धान खेती प्रयोग गर्नुहोस्।
- वर्षे धानको ब्याड तयारीको लागि राम्ररी पाकेको गोबरमल/कम्पोस्ट मल २०-२५ डोको प्रति कट्ठा वा ३०-३५ डोको प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाई १.६ के.जी. बीउ प्रति कट्ठा वा २.५ के.जी. बीउ प्रति रोपनीका दरले (१० वर्ग मिटरमा १ के.जी. बीउका दरले) प्रयोग गर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि वीम वा अन्य कुनै ट्राइसाइक्ल्याजोल युक्त विषादी १ ग्राम प्रति लिटर पानीको दरले वा कासु वी २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई ७-१० दिनको अन्तरालमा २ पटक छर्नुहोस्।
- कोदोबालीबाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाउँ अनुसारको लागि सिफारिस गरिएका कोदोका जातहरूको ब्याड राख्न शुरु गर्नुहोस्।
- विशेष गरि प्रदेश नं-१ र मधेश प्रदेशका जिल्लाहरुमा लगाइएको उखुबालीमा प्रत्येक वर्ष प्लासी गवारोले क्षती पुर्याउने भएकोले अनुगमन गर्नुहोस।
- फलफूल बालीका नर्सरीहरुमा कलमी गरेको भाग भन्दा तलबाट आएका चोर हाँगाहरु अनिवार्य रुपमा हटाउनुहोस्।
- सुन्तलाजात फलफूल बालीको नर्सरीमा चुसाहा कीराहरुबाट हुने नोक्सानी कम गर्नको लागि इमिड़ाक्लोप्रिड (१७.८% एस. एल.) ०.५ मिलि लिटर प्रति लिटर पानीमा घोली पात भिज्नेगरि छर्नुहोस्।
- सुन्तलाजात फलफूलको बोटको टुप्पो सुक्दै आउने, जरा र फेद कुहिने, पँहेलिने, बोट मर्ने रोग देखिएमा उचित व्यवस्थापनको विधिहरु अपनाउनुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि क्याराथेन १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरि ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- उच्च पहाडमा लगाइएको आलुबालीमा डढुवा रोगको अनुगमन गर्नुहोस्। प्रकोप देखा परेमा सेक्टिन १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई ८ देखि १० दिनको फरकमा २-३ पटक सम्पुर्ण बोट भिज्नेगरी पानी नपरेको समयमा साँझपख छर्कनुहोस्।
- फर्सी समुहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोग (Gummy stem blight) व्यवस्थापनको लागि मरेका बोटहरु, रोगग्रस्त पातहरु र रोग लागेर ओइलाएका हाँगाहरु रोग लागेको ठाँउभन्दा ४-५ इन्च मुनीबाट काटेर जम्मा गरि जलाउनुहोस्। रोगको लक्षण देखा परेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- गत केहि हप्तादेखि हल्का वर्षा भैरहेकोले शंखे तथा चिप्ले कीराहरुले तरकारी बाली तथा फलफुलका बिरुवामा निकै क्षती गर्ने भएकोले अनुगमन गरि ब्यबस्थापनका उपायहरु अपनाउनु होस् |
- यो मौसममा नयाँ घाँसका पालुवाहरु पलाउने र कलिला घाँसहरु पाउने हुँदा घाँसहरु नओइलाई खुवाउँदा पेट फुल्ने, छेर्ने समस्या देखिने हुदा पशु वस्तुलाई यस्ता घाँसहरु ओइलाएर मात्र खुवाउनुहोस्।
- दैनिकजसो पानी पर्ने संभावना देखिएको हुँदा पशु-वस्तुलाई खुवाउने पराल दानाको राम्रो ख्याल राख्नुहोस् साथै दानालाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस्।
- हाल काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा व्यवसायिक रुपमा पालिएका संगुर-बंगुरहरुमा संक्रामक रोगहरु फैलिरहेको अवस्थामा रोग फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नुहोस्। रोगका लक्षणहरु देखिएका फार्मबाट पशु वा पशुजन्य उत्पादन केहि पनि खरिद बिक्री वा वितरण नगर्नुहोस्। रोगका लक्षण देखिएका खोरमा मानिसको हिड्-डुल पनि सम्भव भएसम्म कम गर्नुहोस्।
- आगामी साताको मध्य र अन्तयमा प्रदेश नं. १ को तराई, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेकोले पोखरीको प्रवेशद्वार र निकासद्वारमा माछाको आकार अनुसारको जाली राख्नुहोस साथै बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।